धरान(ब्लाष्ट)- राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्टलाई निलम्बन गरेको विषयलाई लिएर विवाद चुलिएको छ । विष्टमाथि गरीएको कार्वाहीलाई लिएर १० केन्द्रिय नेता अध्यक्ष कमल थापाको विपक्षमा खुला रुपमा उत्रिएपछि आन्तरीक विवाद चुलिएको प्रष्ट भएको हो । आठ केन्द्रीय सदस्यसहित १० नेताले संयुक्त विज्ञप्ती जारी गर्दै कमल थापाले एकलौटी निर्णय गरेर विष्टको निलम्बन गरेको आरोप लगाएका छन् । विज्ञप्ती जारी गर्नेहरुमा केन्द्रीय सदस्यहरु विष्णु भट्टराई, मिरा राणा, पदम ठकुराठी, घनश्याम गिरी, ऋषिबाबु परियार, दमन बस्नेत, बसन्तराज लम्साल र इन्द्र थापा रहेका छन् । त्यसैगरी प्रवास विभाग प्रमुख श्याम केसी र राप्रपा नेपाल निकट पूर्व प्रहरी संगठनका निराकार मान सिङ्ग रेग्मीको पनि जारी विज्ञप्तीमा हस्ताक्षर रहेको छ।विज्ञप्तीमा भनिएको छ, ‘ परिवर्तित एंव प्रजातान्त्रीक परिवेशमा पार्टी भित्र विधि पद्धती र प्रजातान्त्रीक प्रक्रियाको विकास गरिनु पर्दछ भन्ने विचार राखिएको आधारमा गरिएको यस स्तरको निलम्वन र निस्कासनले पार्टीका कार्यकताको मात्र नभएर हाम्रो पार्टीसंग समान विचार राख्ने देश विदेशमा रहेका सुभेक्ष्युक तथा राप्रपा नेपाललाई मुलुकको चौथो राजनैतिक शक्तिको हैसियत प्रदान गर्ने मतदाता राष्ट्रवादी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुको भावनामा गहिरो चोट पुग्न गएको छ ।’